त्यो बाङ्गेपीपल सम्झिदो होला खेलेको रमाइ
टोलाउँदै आमा हेर्दी हुन् हात हिँडेको समाइ
कोइली गाउँछ मयुर नाच्छ स्वर्ग हो मेरो गाउँ
छातीमा सजाइ सम्झिरहेछु हुर्केको प्यारो ठाउँ
घर फर्की आउला, आशाको दियो आमाको आँखामा
टेकेको पाइला भुलेको छैन डाँडा, वन, पाखामा ।
खुर्पानी, आरु, आलुचा, निबुवा, भोगटे खाएको
झगडा गरी अन्जानमै फेरि मितेरी लाएको
सम्झिन्छु खोली, कुलो र आली ती कान्ला करेसा
विरही धुन नबजाऊ सङ्गी रुझ्छन् यी परेला ।
त्यो चुलीथुम्के त्यो मानेडाँडा झलझली गौरीवन
पाखा पखेरा, छाँगा छहरा त्यतै छ मेरो मन
सुसेल्दै लिखु दौडिरहेछ सागर भेट्नलाई
म फर्की आउँछु जन्मथलोमा तिर्सना मेट्नलाई ।